प्रमी श्रेष्ठ
नमस्कार,
कुनै पनि देशको विकासको लागि महिलाहरूको सशक्तीकरण र विकास अत्यन्तै जरुरी छ भन्ने मूल भावना, विचार र स्वच्छ उद्देश्यले अभिप्रेरित भएर २०५६ साल पौष ५ गते स्व. चमेली शाक्यज्यूको नेतृत्वमा विधिवत रूपमा यो महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. दर्ता भएको हो।
यस संस्थाको मुख्य ध्येय सहकारीताको माध्यमबाट कार्यक्षेत्रभित्रका तुलनात्मक रूपमा गरिब तथा विपन्न परिवारका महिलाहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार ल्याउने रहेको छ भने गुणस्तरीय वित्तीय सेवामार्फत विपन्न वर्गको आर्थिक तथा सामाजिक रूपान्तरण र महिला सशक्तीकरण गरी गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने एउटा नमुना संस्थाको रूपमा स्थापित हुने संस्थाको दूरदृष्टि रहेको छ।
यसका लागि २०५९ सालमा सीप र जाँगर भएर पनि पूँजीको अभावले खुम्चिनु परेका महिला दिदीबहिनीहरूलाई लक्षित गरेर बालाजु रोटरी क्लब र आर.एम.डि.सि. (हाल साना किसान लघुवित्त वित्तीय संस्था लि.) को सहयोगमा सुरु गरिएको लघुवित्त कार्यक्रमले बैंकको पहुँच बाहिर रहेका न्यून आय भएका करिब ९००० महिलाहरूलाई उनीहरूकै घरदैलोमा लघु उद्यमी ऋण उपलब्ध गराई सीप विकासको माध्यमबाट उद्यमशीलताको विकास गरी उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेतर्फ विशेष सहयोग पुर्याउँदै आएको छ।
फलस्वरूप महिला दिदीबहिनीको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार हुने अवसर पाएको छ। उद्यमशीलताको विकास भई आर्थिक तथा सामाजिक सशक्तीकरणले गर्दा स्वाभिमानी र समृद्ध घरपरिवार बनाउन मद्दत मिलेको छ। यसले गर्दा परिवारमा महिलाहरूलाई सम्मानको दृष्टिले हेर्ने गरिएको छ। महिला सदस्य र उनको घरपरिवारको अझै स्तरोन्नतिको लागि नयाँ प्रविधि र तरिकाबाट सामाजिक ज्ञान, वित्तीय साक्षरता, कानुनी साक्षरताका साथै विभिन्न सीपमूलक कार्यक्रमहरूको साथसाथै महिला स्वास्थ्य जाँच, उनका छोराछोरीलाई छात्रवृत्ति सहयोग, उद्यमी बनाउने, निर्णय गर्न सक्ने क्षमतामा वृद्धि गर्ने विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ र अझै सशक्त रूपमा कार्यक्रम गर्ने योजना रहेको छ।
संस्थालाई माया गर्ने सबै महिला दिदीबहिनी लगायत सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।
जय महिला सहयोगी!
प्रमी श्रेष्ठ
अध्यक्ष
हामीलाई सम्पर्क गर्नुहोस्
कार्यालय ठेगाना
सामाखुसी काठमाडौँ